धरान: साविक एमाले निकट रहेको नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ र साविक माओवादी निकट लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाबीच एकता भएको छ ।

धरानमा राष्ट्रिय एकता भेला आयोजना गरी दुवै जनवर्गीय संगठन एकताको घोषणा गरिएको हो । दुवै संगठन एकता गरेर लिम्बुवान राष्ट्रिय मोर्चा नेपाल नामकरण भएको छ । मोर्चाको संयोजकमा मक्साहाङ मेन्याङबो रहेका छन् भने सहसंयोजकमा त्रिवेणी चोंङवाङ रहेका छन् । मोचाको केन्द्रीय समिति २ सय २५ सदस्यीय रहेको छ । भेलामा केन्द्रीय समितिलाई नेकपा स्थायी समिति सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज तथा मुख्यमन्त्री शेरधन राईलगायतको उपस्थितिमा नेकपा केन्द्रीय सदस्य तथा आदिबासी जनजाति महासंघका संयोजक सुरेश आले मगरले सपथ खुवाएका थिए ।

limbuwan

एकता भेलामा १२ बुँदे सैद्धान्तिक सहमति पत्र पनि सार्वजनिक गरिएको थियो । मोचाले मोर्चाले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताको ख्याल गर्दै आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त प्रदेश स्थापना मुख्य कार्यभार रहेको जनाएको छ । राष्ट्रिय एकता भेला पश्चात बसेको प्रथम केन्द्रीय समिति बैठकले विभिन्न ८ बुँदे निर्णय गरेको मोर्चाले जनाएको छ । बैठकले मोर्चाको केन्द्रीय कार्यालय १६ सदस्यीय र केन्द्रीय सचिवालय ६६ सदस्यीय हुने निर्णय गरेको संयोजक मेन्याङबोले जानकारी दिए ।

शनिबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय कार्यालय र सचिवालयको अन्तिम नामावली टुंगो लगाउने जिम्मेवारी संयोजक र सह संयोजकलाई नै दिने बैठकले निर्णय गरेको छ । यस्तै, मोर्चाको केन्द्रीय कार्यालय धरानमा नै रहने र सम्पर्क कार्यालय काठमाण्डांैमा व्यवस्थापन गर्ने निर्णय गरिएको पनि जानकारी दिइएको छ । बैठकले मोर्चाको सदस्य सचिवमा याम सुब्बा र कार्यालय सचिवमा कपन्दी लिम्बुलाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।