इटहरी: सरकारले सरकारी सञ्चारमाध्यममा आफुखुशी गरेको भन्दै प्रेस युनियनले आपत्ति जनाएको छ ।

सरकारले रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस लगायतका ठाउँमा लामो समय अगाडिबाट काम गर्दै आएका पत्रकारलाई राजनीतिक पूर्वाग्रह साँधेर जथाभावी हटाएको र कार्ड रिन्यु समेत नगरेकये भन्दै प्रेस युनियन सुनसरीले आपत्ति जनाएको हो । युनियनको सुनसरी शाखाले यही बिषयमा बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्रसमेत बुझाएको छ ।

युनियनले सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासनमार्फत सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो । लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर केही समयअगाडि कामबाट हटाइएको थियो । विवादित सञ्चार विधेयक समेत सच्याउन माग गर्दै युनियनका जिल्ला अध्यक्ष धनबहादुर पुरी लगायत पूर्व अध्यक्ष एवम् अन्य युनियनका पदाधिकारीहरुले संयुक्त रुपमा निमित्त प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझेपछि श्रेष्ठले आफ्नो ध्यानाकर्षण भएको बताए ।