धरान: नेपाल बार एशोसिएशनको आयोजनामा धरानमा दुई दिने कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

यही भदौ २० र २१ गते धरान १५ स्थित चुम्लुङ हिममा २८ औं राष्ट्रिय सम्मेलन हुन लागेको हो । बार एशोसिएशनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै मानवअधिकार र लैंगिक न्यायका लागि समानता, अविभेद र सशक्तिकरण भन्ने मुल नाराका साथ राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको छ । सम्मेलनको उद्घाटनमा प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा प्रमुख अतिथि रहनेछन् ।

यस्तै, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधिश मिरामैया खड्का, सपना प्रधान मल्ल, शुष्मलता माथेमा, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । सुनसरी जिल्ला बार ईकाईको आतिथ्यता र धरान कानुन व्यवसायी क्लबको सहआतिथ्यतामा हुने सम्मेलनको उद्घाटनको दिन बिहान धरानमा प्रभातफेरि पनि आयोजना गरिने जिल्ला बार अध्यक्ष प्रेमप्रसाद पोखरेलले जानकारी दिए ।

सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ५ सय कानुन व्यवसायी महिला र त्यतिकै संख्या पुरुष कानुन व्यवायीहरुको पनि सहभागिता रहने केन्द्रीय उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । राष्ट्रिय सम्मेलनमा विभिन्न बिषय बस्तुमा कार्यपत्र प्रस्तुत हुने उपाध्यक्ष बस्यालले बताइन् । उनका अनुसार सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरु ४ वटा सेसनमा वहस तथा छलफल हुनेछ । महिला कानुन व्यवसायीहरुको सशक्तिकरण गर्नलाई मात्र सम्मेलन आयोजना नगरिएको बताउदै कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले सम्मेलनमा हुने बहस र छलफलको निष्कर्षसमेत समेटेर धरान घोषणा पत्र जारी हुने बताए । यो सम्मेलनले कानुनमा भएको कमीकमजोरी भेटिए सुधार गर्न औल्याइने उनले बताए ।

केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ नयाँ अपराध संहिता, देवानी संहितालगायत कानुनहरुबाट भएको समस्या र चुनौतीहरुबारे सम्मेलनमा गम्भीररुपमा मन्थन हुने बताए । साथै उनले कानुनमा सुधार गर्नुपर्ने छ भने त्यसलाई पनि औल्याइने बताए । ‘घोषणा पत्र जारी गछौं, त्यो कार्यान्वन गराउछौं । जनतालाई पनि सजग गराउने र सरकारलाई घचघचाउने काम गछौं,’उनले भने ।