धरान: धरान उपमहानगरपालिकाको वडा नं २० स्थित विष्णुपादुकामा अस्थायी प्रहरी चौकीको बिहीबार उद्घाटन गरिएको छ ।

अस्थायी प्रहरी चौकीको बिहिबार एक समारोहबीच नेकपाका स्थायी कमिटि सदस्य, प्रदेश नं १ इञ्चार्ज तथा प्रदेश सांसद भिमप्रसाद आचार्यले गरे उद्घाटन गरेका थिए । कुल ३४ लाख रुपैयाँ लागतमा थुनुवा कोठासहितको एक तल्लाको चौकी निर्माण भएको छ । चौकीमा चार कोठा रहेको वडाध्यक्ष मणिराम राईले जानकारी दिए । चौकी भवन बनाउन २०७४ सालदेखी शुरु भएको थियो । चौकी निर्माणको लागि सांसद आचार्यको सांसद क्षेत्र विकास कोषबाट १५ लाख, धरान उपमहानगरपालिकाको क्रमागत योजना अन्तर्गत १६ लाख र २० नम्बर वडाले ३ लाख रुपैयाँ बजेट दिएको थियो ।

यस्तै, वडामा भएको भवानीथान सामुदायिक बन, गौधारा सामुदायिक बन, भालढुङ्गा सामुदायिक बन, चण्डिका सामुदायिकलगायतले काठा तथा भर्निर उपलब्ध गराएको र स्थानीयको सहयोगमा चौकी निर्माण गरिएको वडाध्यक्ष राईले बताए ।

pic-2

धरान उपमहानगरको २० वटा वडामध्ये भौगोलिक रुपमा सबैभन्दा ठुलो र कम जनसंख्या भएको यस वडा सुरक्षाको हिसाबले चुनौतीपूर्ण मानिएको र अब प्रहरीको लागि व्यावस्थित बस्ने भवन निर्माण गरिएकोप्रति उनले खुशी व्यक्त गरे । ‘धरानको २० वटा वडामध्ये भौगोलिक बनावट र क्षेत्रफलको हिसाबले सबै भन्दा ठुलो छ, सुरक्षा चुनौती पनि छ त्यस्तो क्षेत्रमा सुरक्षा दिने प्रहरीको लागि बस्ने भवन थिएन बल्ला बनाउन सफल भयौं’ वडाध्यक्ष राईले फोन सम्पर्कमा भने ‘अब विष्णुपादुकाबासीले अझ सुरक्षीत भएको महसुस गरेका छौं ।’

हाल प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा ५ जना प्रहरी वडा कार्यालयमा नै बस्दै आएका छन् । कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेललगायत जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रम अस्थायी प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र प्रसाद तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्बिरः देवाहाङको फेसबुकबाट