धरान: नेपाली कांग्रेस सुनसरीले मध्यराती इटहरी र धरानको शैक्षिक संस्थामा भएको बम विष्फोटको विरोध गरेको छ ।

कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेको हो । बिहिबार मध्यराती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको हाताभित्र भएको दिल्ली पब्लिक स्कुलको गेटमा र इटहरीको सुष्मा गोदावरी कलेजको कम्पाउण्ड वालमा विष्फोट भएको थियो । विष्फोट चन्दा नदिएको कारण नेत्रबिक्रम चन्द विप्लवले गराएको प्रहरीको भनाई छ ।

कांग्रेसले अस्पताल र शैक्षिक शंस्था जस्तो संवेदनशील क्षेत्रमा भएको यो घटनाको गम्भीररुपमा छानबिन गर्न पनि माग गरेको छ । 'यो घटनाले धरान, इटहरी मात्र नभई जिल्लाकै सुरक्षा माथि खतरा बढेको छ । शान्ति सुरक्षाको व्यवस्था मजवुद बनाई भयरहित वातावरणमा जिउन पाउने अवस्था सिर्जना गर्न र यस्ता घटनाका दोषीलाई अविलम्व कारवाहीको दायरामा ल्याउन सुनसरी काँग्रेस माग गर्दछ,'विज्ञप्तीमा भनिएको छ ।