धरान: संघीय सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले नेकपाको वर्तमान सरकारलाई दुई तिहाईको दम्भ भनेर धारे हात लगाउदै गाली गर्नेहरुले जनमतको अनादर गरेको बताएका छन् ।

शुक्रबार धरानमा शुरु भएको कानून व्यवसायी महिलाहरुको २८ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले जनताको अभिमत पाएर दुई तिहाई सरकार बनेको बताउदै सरकारले गरेको कामहरुलाई दुई तिहाईको दम्भ भनेर धारे हात लगाउदा जनमतकै अनादर भइरहेको जिकिर गरे । ‘वर्तमान सरकारलाई दुई तिहाईको दम्भ भनेर धारे हात लगाउनेहरुले यो कुराको हेक्का राखुन् कि यो सरकार जनताको अभिमत पाएर आएको हो, त्यसैले धारे हात लगाउनेहरुले जनमतको अनादर गरेको हो,’मन्त्री ढकालले भने ।

मन्त्री ढकालले वर्तमान सरकारलाई ५ बर्षपछि पुनः निर्वाचनमा जानुपर्छ भन्ने राम्रो हेक्का रहेको पनि बताए । एक बर्षमा २२५ कानुन बनाएको उल्लेख गर्दै उनले ती मध्ये २ वटामा मात्र मतदान गर्नुपरेको बताए । ‘मतदानबाट २ वटा मात्र कानुन बन्यो, बाँकी २२३ कानुन सर्वसम्मत नै भयो,’उनले भने,‘मिडिया काउन्सिल पनि सर्वसम्मत नै पारित हुन्छ ।’