सुनसरी: इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले यसलाई हटाउन सवै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको सहभोज कार्यक्रमलाई सम्वोधन गर्दै उनले छुवाछुत,भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाज भित्रको कलंक भएकाले त्यस्तो सोच हटाउनुपर्नेमा जोड दिए । संविधानसभाकी सभासद अनिता परियारले जातीय छुवाछुत जस्तो जघन्य अपराध हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले त्यस्तो कुप्रथा हटाउन सवै एकजुट हुन आग्रह गरे ।

itri-sahavoj

इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सदभाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको वताए । अभियानकर्मी डिविशाह शंकरले छुवाछुत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान अपरिहार्य रहेकोमा जोड दिए । इटहरी १७ का वडाध्यक्ष भगवान लाल शाहले छुवाछुत समाजले नै सृजना गरेकाले समाजले नै हटाउनुपर्ने बताए ।

नागरिक समाजका इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको वास्तविकता सुनाए । उनले नागपञ्चमीको दिन अरु घरमा टाँस्दै आएर आफनो घर भने छुटाएको भन्दै दुःख ब्यक्त गरे । मनकामना मन्दिर इटहरीमा आयोजित सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता वराइलीले गरेकी थिइन् ।