इटहरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनतालाई झुक्याउने काम गरेका बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो जनजागरण अभियानको पहिलो दिन मंगलबार सुनसरीको ईनरुवामा सम्बोधन गर्दै देउवाले सरकारले जनतालाई झुक्याउने काम गरेको बताएको हो । ‘देश अफ्ट्यारो स्थितिमा पुगेको छ,’ उनले भने, ‘कम्युनिष्ट सरकारले त्रासको शासन र जनता झुक्याउने काम गरेको छ ।’ सरकार अधिनायकवाद तर्फ लम्किएको बताउँदै उनले जनताको लेख्ने, बोल्ने काम बन्द गर्न खोजेको र हरेक ठाउँमा सरकारले लाचारीपन र ज्यादती गरेको देउवाको भनाई थियो । ‘कम्युनिष्टको खिलापमा आज प्रजातन्त्र खतरामा रहेको छ,’ देउवाले भने, ‘यीनिहरु सच्चिएनन् भने हामी आन्दोलन गर्नुपर्ने हुन्छ, तपाईँहरु जागरुप हुनुहोस् ।’ उनले तत्कालिन कांग्रेसको सरकार रहँदा सुनसरी, सप्तरी र उदयपुरलाई छोएर बग्ने सप्तकोशी नदीबाट कोही पनि प्रभावित हुन नदिनका लागि आँफूहरुले कोशी बाँध बाँध्न सुरु गरेको भएपनि वर्तमान केपी ओली नेतृत्वको सरकारले त्यसलाई बेवास्ता गरेकोप्रति आपत्ती जनाए । ‘मैले बाढीको समयमा यहाँ अनुगमन समेत गरेँ,’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘यहाँ बाढीले क्षती गर्यो, हाम्रो सरकार आउँने बित्तिकै हामी बाँधको काम अगाडि बढाउँछौँँ ।’ कांग्रेसले सबै क्षेत्रलाई समेटेको बताउँदै देउवाले मुलुकमा आँफूहरुले समावेशी व्यवस्था लागू गरेको जिकिर गरे । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानसहित देशैभरीका सबै क्षेत्रमा कांग्रेसले विजय हाँसिल गर्ने समेत देउवाले ठोकुवा गरे ।
नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले वीपी कोईरालाको आदर्शलाई बोकेर कांग्रेस अगाडि बढेको र कांग्रेज जहिल्यै पनि जनताको पक्षमा रहेको उल्लेख गरे । ‘हामी सुनसरीमा अब्बल रुपमा रहेका छौँ,’ गच्छदारले भने, ‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ, तर वर्तमान सरकार जनताको विपक्षमा रहेको छ ।’ सरकारले जनताको माग पूरा नगरेकाले जनता विद्रोहमा उत्रिन बाध्य भएको उनको तर्क थियो ।

00 1

त्यस्तै, पूर्व अर्थमन्त्री समेत रहेका सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुईतिहाँईको सरकारले जनतामा उत्साह नदिएको तर्क गरे । उनले भने, ’सरकारले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा मात्र लगाएको छ, दुई बर्ष भित्रै जनता निराशामा परिणत भईसकेका छन् ।‘ उनले सुनसरीमा जंगली जनावरबाट दर्जनौले ज्यान गुमाउनु परेको र त्यसको स्थायी समाधानका निम्ति सरकारले कदम नचालेको आरोप लगाउँदै त्यसको समाधानका निम्ति आँफूहरु जुटेको कार्कीको भनाई थियो ।

कांग्रेसका सह-महामन्त्री डा. प्रकाशसरण महतले सेवा, सुविधा र विकास निर्माणमा सरकारले भेदभाव गरेको बताए । उनले भने, ’देशमा गफ गर्ने सरकार छ, काम गर्ने सरकार छैन । जनताले कामको आधारमा मूल्याङ्कन गर्नुपर्ने दिन आएको छ ।‘ कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, सिताराम मेहेता, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले सम्बोधन गर्दै देशमा महंगी, भ्रष्टाचार, अत्याचार बढेको तर्क गर्दै सरकार लाचारी भएको बताएका थिए । ‘कोशी पीडितको रिले अनसनको बिषयले संसदमा ठाउँ नपाईराखेको अवस्था छ,’ वक्तामध्येका सिताराम मेहेताले भने, ‘कोशीपीडितको स्थायी समाधानका निम्ति समेत कांग्रेसले आवाज उठाउँने छ ।’ यसैबीच स्वर्गीय गिरीजाप्रसाद कोईरालाको स्मृतिमा निर्माण भएको पार्टी कार्यालयको भवन समेत उद्धघाटन गरिएको थियो ।

congress-1 2