धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानको चर्चित पर्यटकीय गन्तव्य वीपी पार्क पुग्ने बाटोलाई वीपी मार्ग नामकरण गर्न सुझाव दिएका छन् ।

आज बिहान वीपी पार्कमा वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले धरानको फुस्रे र पार्क भएको ठाउँ पुग्ने बाटो वीपी कोइरालासँग जोडिएको ऐतिहासिक भएको भन्दै यो सुझाव दिएका हुन् । ‘विराटनगरमा मजदुर आन्दोलन हुँदा राणाहरुले हतकडी लगाएर यही बाटो पैदल हुदै धनकुटा, भोजपुरतिरबाट वीपीलाई काठमाण्डौं पुर्याएको थियो, त्यसैले यो ऐतिहासिक बाटो हो, यसलाई वीपी मार्ग बनाउन लाग्नुपर्छ,’देउवाले भने,‘यो ठाउँ सुन्दर, आकर्षक बनेछ, खुशी लाग्यो ।’

bp-park-deuba1 1

राणाहरुले वीपी कोइरालालाई समातेर काठमाण्डौं पुर्याउनुअघि एक रात धरानको फुस्रेमा राखेका थिए । त्यहाँबाट हाल वीपी पार्क बनेको ठाउँबाट पुरानो बाटोबाट धनकुटा, भोजपुर हुदै उनलाई काठमाण्डौं पुर्याएका थिए । नेपाली कांग्रेसले २०७१ सालमा वीपी पदयात्रा कार्यक्रम गर्दा यहाँ शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि आएर वृक्षारोपण गरी वीपी स्मृति पार्कको शिलान्यास गरेका थिए । बुधबार बिहान देउवाले करिब ५ बर्षअघि आफुले रोपेको शिरिषको बोटमा पानी पनि हालेका थिए । ‘अरुतिर रोपिएको विरुवा हराउछ, यहाँ त मैले रोपेको विरुवा हुर्किएछ, खुशी लाग्यो,’देउवाले भने,‘पार्क उत्तम लाग्यो, भविष्यमा अझै विकास होस्, पर्यटक आउने वातावरण बनोस् ।’