काठमाडौं : फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा विहीबार बयान सुरु भएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । ब्यूरोले निर्माण ब्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रिय कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । ब्युरो स्रोतका अनुसार पक्राउ परेका नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेस प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगर छन् ।

स्रोतका अनुसार वीरबलले समीरमानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र र्पुयाउन सघाएका थिए । पक्राउ परेका एकजनाले ५ हजार दिने सर्तमा वीरबलको मोबाइल जेलभित्र र्पुयाउन भूमिका खेलेको बयान दिएका छन् । समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ ब्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए । कान्तिपुर दैनिकबाट