इटहरी: प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने बताएका छन् ।

इटहरी २० तरहरास्थीत राष्ट्रिय जनसहयोग कलेजको सातौं कलेजसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले विद्यार्थीलाई पार्टीले प्रयोग गर्न नहुने तर्क गरेका हुन् । 'बिद्यार्थीलाई हामीले अब पार्टीको झण्डा बोकाउँन हुँदैन,'मन्त्री घिमिरेले भने,'अबका विद्यार्थीलाई योग्य र सक्षम बनाउँनका लागि हामीले पहल गर्न जरुरी रहेको छ ।' देश समृद्धितर्फ उन्मुख भएको उदृत गर्दै उनले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्नेमा जोड दिए ।

उनले प्रदेश १ मा ९१ वटा सामुदायिक क्याम्पस रहेको र ती क्याम्पसलाई संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार लागि परेको बताए । सामुदायिक क्याम्पसलाई संरक्षण गर्न चुनौती रहेको भएपनि यसको संरक्षणका लागि आँफूहरु चिन्तित रहेको घिमिरेको भनाई थियो । 'हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ,'मन्त्री घिमिरेले भने,'अवका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्नेछ ।'

त्यस्तै, प्रदेश सभा सदस्य सर्वध्वज साँवाले शुभकामना मंतब्य राख्दै विद्यार्थीहरुलाई आँफूहरुले देशमै रोजगारीको अवसर श्रृजना गर्न काम गरिराखेको उदृत गरे । उनले कलेज भवन बनाउँनका लागि आँफूले सांसद विकास कोषबाट १५ लाख रुपैँया दिएको बताए । 'यो ठाउँकै गहनाको रुपमा यो विद्यालय स्थापित भएको छ,'उनले भने,'अब बिद्यार्थीहरुले यहिँ रोजगारीको अवसर श्रृजना गर्नुपर्छ ।'

कार्यक्रममा क्याम्पस प्रमुख दोर्ण न्यौपानेले कलेजको प्रगति प्रतिवेदन प्रस्तूत गर्दै कलेजले प्रत्येक बर्ष उत्कृष्ट नतिजा हाँसिल गरेको बताए । 'सामूदायिक कलेजहरुमध्ये हाम्रो कलेज देशमै प्रथम र देशमै दोस्रो स्थान समेत हाँसिल गरिसकेको छ,'उनले भने,'स्थापना भएको दश बर्षमा नै हाम्रो कलेज सर्वोत्कृष्ट रहेको छ ।' कलेजको भवन बनाउँनका लागि प्रेश सरकारले ६५ लाख रुपैँया बजेट छुट्याएको बताए । अहिले व्यवस्थापन र शिक्षा बिषय अध्यापन हुँदै आएको र ४ सय बढी विद्यार्थी अध्ययन गर्ने बताउँदै न्यौपानेले १८ जना बिद्यार्थीलाई सोही कार्यक्रमको अवसर पारेर छात्रबृत्ति दिएको बताए । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।