विराटनगर: हिजो शनिवारदेखि १ नं प्रदेशको राजधानी बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय तथा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको साथै विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताए । उनले शान्ति सुरक्षामा खलल पुर्‍याउने कसैलाई पनी छुट नहुने भन्दै कानून विपरीत कार्य गर्ने जो कसैलाई पनि कानूनी कठघारामा उभ्याउन निर्देशन पनि दिए । मुख्यमन्त्री राईले कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिए । साथै, राम्रो कामका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तत्पर रहेको पनि बताए ।

यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले जनताको चाहाना बमोजिको सुरक्षा रणनीति अबलम्बन गर्नु पर्ने भएकोले सोही अनुसार कानूनको परिधी भित्र रहेर जनचाहाना अनुसार सुरक्षा ब्यवस्था मिलाउन आवश्यकता रहेको बताए । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले अगाडी सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरे सुरक्षा व्यवस्था मजबुद हुने बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको बताए । उनले अपराध र अराजकशैलीका गतिविधिमा कमी आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको पनि बताए ।

गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी, १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, १ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । गोष्ठी पश्‍चात् प्रहरी महानिरीक्षक खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।