विराटनगर : प्रदेश नं १ सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार विभिन्न निर्णयहरु गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत सेवा करारमा इन्जिनियर तथा सव इन्जिनियर छनौट गर्नका लागि प्रारम्भिक लिखित परीक्षा समेत समावेश गर्ने निर्णय भएको छ । प्रदेश भित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समित गठन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिव रहनेछन् ।