इटहरी: नेकपा इटहरीको विवाद उत्कर्षमा पुगेको छ । विवाद समाधान हुन नसक्दा नेकपाको बैठक नै बिथोलिएको छ ।

तीन साता यता देखि विवाद हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीका असन्तुष्टहरुले आफ्नो मागको सम्बोधन नभएको भन्दै बिहीबार गोप्यरुपमा बसेको नेकपा इटहरी उपमहानगरको बैठक बिथोलिएको छ । रोलक्रम मिचेर, पार्टीको विधान विपरीत नगर सचिव काशीनाथ दंगाललाई नियुक्त गरेको भन्दै युवाहरु असन्तुष्ट छन् । उनलाई नगर सचिवबाट हटाउन माग गर्दै तीन सातायता युवाहरु आन्दोलनमा छन् । उनीहरुले गत भदौ १२ गते नेकपा इटहरी पार्टी कार्यालयमा तालाबन्दी लगाएका थिए भने भदौ ३१ गते नेकपा प्रदेश १ कार्यालयमा समेत तालाबन्दी गरेका थिए ।

उक्त विवादको निष्कर्ष अझै निस्किएको छैन । विवाद चुलिदै गएपछि बिहीबार गोप्य रुपमा बसेको बैठक बिथोलेको असन्तुष्ट पक्ष मध्येका एक सुनिल कार्कीले बताए । नगर कमिटिको पूर्ण बैठक बस्दै गर्दा बैठक बिथोलेको उनले बताए । तत्कालिन नेकपा एमाले वडा नं.४ का उप–सचिव समेत रहेका कार्कीका अनुसार नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा गोप्यरुपमा बसेको बैठक बिथोलिएको हो । ‘कार्यक्रम हुँदै गर्दा एजेन्डा राखेपछि हाम्रो माग समेटिएन,’ कार्कीले भने, ‘त्यसैले हामीले बैठक बिथोल्न बाध्य भयौँ ।’ कार्कीले नगर कमिटिका मानिसहरुले भागेर, लुकेर र होटलमा गोप्य रुपमा बैठक बसेकाले आँफूहरुले मुर्दाबादाको नारा लगाएर करीब ६० जनाको समूहले बैठक अबरुद्ध गरेको बताए ।

फोटो क्याप्सन:प्रदेश कमिटि कार्यालयमा तालाबन्दी गर्दै युवाहरु/फाइल तस्बिर