सुनसरी: इटहरीमा पनि आज धुमधामका साथ संविधान दिवस मनाइएको छ ।

संविधान दिवसकै अवसरमा असोज १ गतेदेखि आजसम्ममा विभिन्न १३ वटा कार्यक्रम गरिएको इटहरी उपमहानगरले जनाएको छ । बिहान इटहरीमा नौमति वाजासहित सयौको सहभागितामा प्रभातफेरी गरिएको थियो । सोही क्रममा इटहरी गोलचोकमा राष्ट्रिय झण्डा फहराइएको छ । प्रदेश सरकारले १ नं प्रदेशको प्रमुख सहरको चोकमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेअनुसार इटहरी चोकमा अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले झण्डोत्तोलन गरे ।

इटहरी उपमहानगर परिसरमा आजै रक्तदान र स्वास्थ्य परीक्षण शिविर भएको छ । यस्तै, असोज १ गतेदेखि भएका बिभिन्न प्रतियोगिताका विजेताहरुलाई एक समारोहबीच पुरस्कार वितरण गरिएको छ । संविधानको बारेमा निवन्ध लेखन, वक्तृत्वकला, फुटसल खेल लगायत सम्पन्न भएको थियो । इटहरी चौकमा अहिले साँझ दिपावली गरिएको छ ।