इटहरी: पार्टी समायोजन हुदा उत्पन्न नेकपा इटहरीको विवाद केन्द्रीय अध्यक्षसम्मै पुगेको छ । असन्तुष्ट पक्षले सुनसरीको झुम्का आएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाएका छन् ।

पार्टी एकीकणपछिको कमिटि समायोजन गर्दा पार्टी केन्द्रले बनाएको मापदण्ड, अन्तरिम विधान र निर्णयको वेवास्ता गरी कमिटिहरु गठन गरिएको ज्ञापन पत्रमा उल्लेख छ । खासगरी पूर्व एमालेको तर्फबाट मनोमानीढंगले नियम मिचेर कमिटि समायोजन गरिएको ज्ञापन पत्रमा उल्लेख छ । असन्तुष्ट ५ सय ३७ जना पार्टी सदस्यहरुले लिखित ज्ञापन पत्र बुझाए पनि उपमहानगर कमिटि, जिल्ला कमिटि र प्रदेश कमिटिले वास्ता नगरेको र तालाबन्दी गर्नुपरेको ज्ञापन पत्रमा उल्लेख छ ।

itri-nekapa1

असन्तुष्ट पक्षले जटिलताको अन्त्य गरी सहज वातावरण बनाउन अध्यक्ष प्रचण्डको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । ज्ञापन पत्रमा ३ सय ३७ जनाको हस्ताक्षरको फोटोकपी पनि उल्लेख गरेका छन् । नेकपा इटहरीमा नगर सचिवमा काशीनाथ दंगाललाई पार्टीको रोलक्रम तथा मर्यादाविपरीत नियुक्त गरेको भन्दै उनलाई पदबाट तत्काल फिर्ता बोलाउनु पर्ने माग गर्दै कार्यकर्ताहरु आन्दोलनमा छन् । आन्दोलनमा उत्रिएका असन्तुष्ट पक्षले गएको भदौ १२ गते इटहरी पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए भने ३१ गते नेकपा प्रदेश १ को कार्यालयम समेत तालाबन्दी गरेका छन् ।