पथरी: संविधान दिवसको अवसर पारेर मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा बसोबास गर्ने २ जना संविधानसभा सदस्यलाई शनिबार सम्मान गरेको छ ।

संविधान दिवसको ३ दिने कार्यक्रमको अन्तिम दिन पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर र दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई पथरी नगरले सम्मान गरेको हो । संविधान निर्माणमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । दुवैलाई नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले सम्मान गरेका थिए ।

सभासदद्वयले संविधान निर्माणका क्रममा अतिवादीहरुसँग संघर्ष गरेर जनताको सर्वोपरी हितको संविधान बनाउन लागि परेका बताए। पहिलो संविधान सभा चुनाबमा तत्कालिन नेकपा माओबादीबाट उम्मेदवार बनेका मगरले तत्कालिन एमालेका नेता भरतमोहन अधिकारीलाई पराजित गरेका थिए भने रार्इ तत्कालिन एमालेबाट उम्मेदवार बनेर चुनाब जितेका थिए ।