इटहरी : केही साता अघि इटहरीको शुष्मा गोदावरी कलेजमा बम बिष्फोट गराउने विप्लव समूहका सुनसरी इन्चार्ज लक्ष्मण पौडेलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले विप्लव समुहको सुनसरी इन्चार्ज पौडेलसहित जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्टलाई इटहरी १७ बाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट महत्वपूर्ण कागजात र लेटरप्याड बरामद भएको समेत गरेको छ ।

भदौ १९ गते इटहरीस्थित शुष्मा गोदावारी कलेजमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरीको सुक्ष्म अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । भदौ १९ मा एकैरातमा इटहरीको सुष्मा गोदावरी र धरानको विपी प्रतिष्ठान हाताभित्रको दिल्ली पब्लिक स्कुल क्षेत्रमा बम विष्फोट भएको थियो । सुष्माको वाल भत्किएको थियो भने दिल्ली पब्लिकको मुख्य गेटमा क्षति पुगेको थियो ।