झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यहि असोज १६ गते गृहजिल्ला झापा आउने भएका छन् ।

झापा क्षेत्र नम्बर ५ का संघीय संसद सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला आउने भएका हुन् ।  प्रधानमन्त्रीका सचिवालय सदस्य होम बहादुर थापाका अनुसार आफ्नो निर्वाचन क्षेत्रअन्तगर्त दमक र मोरङको मधुमल्ला जोड्ने मावा पुलको उद्घाटन तथा दमक, कमल र गौरादह समेतको क्षेत्र ओगट्ने प्रस्तावित नेपाल चाइना फ्रेण्डसिप इण्डष्ट्रियल पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम रहेको छ । लगानी बोर्डले औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी स्वीकृत गरिसकेको छ । पार्कमा ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहने जनाइएको छ ।

त्यस्तै, उनले दशैंको अवसरमा महानवमीको दिन बर्से्नि आफ्नै आयोजनामा विर्तामोडमा गर्दै आएका शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमलाई निरन्तरता दिने पनि बुझिएको छ । प्रधानमन्त्री ओली दमकका महत्वपूर्ण दुई कार्यक्रमका लागि आउने भएपछि स्थानीय पार्टी कमिटीले पनि ती कार्यक्रमलाई सफल बनाउन आन्तरिक तयारी शुरु गरिएको स्थानीय पार्टी नेतृत्वले जनाएको छ ।