इटहरी : नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान सकिए पनि बुधबार केन्द्रीय प्रतिनिधिहरुले इटहरीमा आफ्नो अनुभव साटेका छन् ।

इटहरीको बगान रेष्टुरेन्टमा नेपाल प्रेस युनियनद्धारा आयोजित संवाद कार्यक्रममा नेताहरुले जागरण अभियानको क्रममा जनताले आफुहरुसँग गरेको गुनासोसँगै कामको अनुभव साटेका हुन् । संवाद कार्यक्रममा अधिकांश नेताहरुले गरीब जनताहरु राजनीतिको पहुँचभन्दा टाढा रहेको धारणा राखे । साथै, जनतामा सरकारबाट आशा मरेको भन्दै उनीहरुले कांंग्रेसले निराशाबाट मुक्त गर्नुपर्ने पनि उनीहरुले सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का संसदीय दलका नेता राजीब कोइरालले अब यथास्थितिबादी सोचबाट निस्कनुपर्ने बताए । ‘हामी सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने दिन आएको छ,’ कोइरालाले भने,‘कम्युनिष्टले नियोजित ढंगले जनतामाथि आक्रमण गरिरहेको छ ।’ उनले तेस्रो चरणको जनजागरण अभियान अझै भव्य तरिकाले गाउँ–गाउँमा गर्ने बताए । ‘यो कार्यक्रमले जनतामा सकारात्मक प्रभाव पारेको छ,’ उनले भने, ‘अब हामी निराशाबाट निस्कुनपर्ने अवस्था आएको छ ।’

केन्द्रीय प्रतिनिधि सुवास पोखरेलले गरीब जनताको पहुँचभन्दा राजनीति टाढिएको धारणा राख्दै कांग्रेसले बैचारिक आन्दोलन गर्न आवश्यक रहेको बताए । जागरण अभियानले जनतामा उत्साह छाएको उनले बताए । अर्का केन्द्रीय प्रतिनिधि बीन बिश्वकर्माले पार्टीभित्रको संरचनात्मक सुधार गर्न जनजागरण अभियान चलाएको बताए । उनले संगठन मजबुत भएमा जनताले सोचे अनुसारको विकास गर्न सकिने धारणा राखे । जनतामा निराशा छाएकोले उनीहरुको समाधानको विकल्प कांग्रेस रहेको औल्याए ।

rajiv-koirala

यस्तै, केन्द्रीय प्रतिनिधि सुकदेव प्रसाद यादबले कृषि क्षेत्रको उचित संरक्षण नहुँदा कृषक मारमा पर्दै गएको बताउँदै उनले कृषकको समस्याको समाधानका निम्ति कांग्रेस जाग्नुपर्ने बताए । प्रदेश १ की सांसद नवोदिता चौधरीले मुलुक गम्भीर अवस्थामा रहेको बताउदै प्रदेशमा पनि नेकपाको दुई तिहाईको दम्भले कसैसँग सहमति नगरी विधेयक पास भइरहेको बताइन् । उनले सरकार निरङ्कुश हुदै गएको धारणा राख्दै कांग्रेसले सडकदेखि सदन तताउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताईन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिताराम मेहेता, महासमिति सदस्य राजीब ढुंगाना, केन्द्रीय प्रतिनिधिहरु दिलीप गच्छदार, धन कुमार लिङ्खा, आनन्द सन्तोषी लगायतले बोल्दै कांग्रेसले गाउँ समाजका मानिसहरुसँग प्रत्यक्ष संवाद गरेको बताए । पार्टीलाई कमजोर बनाउने काम बन्द गर्नुपर्ने र सरकारले जनतालाई आश्वासन मात्र दिएको गुनासो बढेकाले जनतासामु सकारात्मक काम गर्नुपर्ने उनीहरुको भनाई रहेको थियो ।

कार्यक्रममा सुनसरी क्षेत्र नं. २ का सचिव रमेश पोखरेलले समाजलाई सुसुचित गराउँदा पत्रकारहरु जोखिम रहेकोले कांग्रेसले त्यसबिषयमा पनि आवाज उठाउनु पर्ने धारणा राखे । उनले जनजागरण अभियानले जनतामा सकारात्मक प्रभाव पारेको बताउँदै आगामी दिनमा पनि जनताको आवाजलाई कांग्रेसले आत्मसाथ गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले प्रेस र कांग्रेसबीच मैत्रीपूर्ण सम्बन्ध हुनुपर्ने बताए ।