भोजपुर: भोजपुरको षडानन्द नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले झुटो खरीद आदेश र झुटो दाखिला रिपोर्ट तयार गरी लाखौं भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले बिशेष अदालतमा निमित्त प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की र लेखा अधिकृत राजेश काफ्लेविरुद्ध बुधबार मुद्दा दायर गरेको हो । अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई १६ लाख ५६ हजार ९ सय ४ रुपैया भ्रष्टचार गरेको मुद्दा दायर गरेको हो भने लेखा अधिकृत काफ्लेले १८ लाख ५ हजार ६८ रुपैया भ्रष्टचार गरेको मुद्दा दायर गरेको जनाएको छ । अख्तियारका अनुसार दुवैले कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा लगेर कार्यालय बाहिर गई विभिन्न योजनाहरुको भुक्तानी गरेको र आफु अनुकुलका व्यापारीहरुसँग साँठगाठ गरी मिलेमतोमा विभिन्न सामानहरु खरीद गरी भुक्तानी गरेको उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत कार्कीले झुटा कागज स्वीकृत गराइ तथा झुटो विवरण पेश गरी प्रतिवेदनसमेत पेश नगरी १ लाख ३३ हजार ५ सय ६८ रुपैया र कार्यालयमा प्राप्त नभएको मालसामानहरुलाई कार्यालयको जिन्सी आम्दानी खाताहरुमा समावेश नगरी आफुहरुले नै झुटो खरीद आदेश र झुटो दाखिला रिपोर्ट तयार गरी १५ लाख २३ हजार ३ सय १८ रुपैया भ्रष्टचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यस्तै, लेखा अधिकृत काफ्लेले पनि भ्रमण प्रतिवेदन पनि पेश नगरी बढी भुक्तानी लिएको तथा अनावश्यक कानुनी प्रकृया पुरा नगरी भौचर खडा गरेर २ लाख ८१ हजार ७ सय ५० रुपैया लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । यसैगरी, झुटा खरीद आदेश र झुटा दाखिला रिपोर्ट तयार गरी १५ लाख २३ हजार ३ सय १८ रुपैया भ्रष्टचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।