काठमाण्डौं : चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ ।

तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन । जापानका नयाँ सम्राट नारोहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी टोकियो प्रस्थान गर्ने तयारीमा जुटेको शीतल निवास स्रोतले पुष्टि गरेको छ ।

कात्तिक ५ मा आयोजना हुने सम्राट नारोहितोको राज्याभिषेकमा सहभागी हुन विश्वबाट २ हजार ६ सय पाहुना जापान पुग्दै छन् । जापानी सञ्चारमाध्यमका अनुसार सो दिन मुलुकभर बिदा घोषणा गरेर राष्ट्रिय पर्वका रूपमा राज्याभिषेक मनाइनेछ ।

राष्ट्रपति भण्डारीको भ्रमण आसपासमा प्रधानमन्त्री केपी शर्मा ओली पनि युरोपेली मुलुक अजरबैजानको भ्रमणमा जाने भएका छन् । सो मुलुकको राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन त्यता प्रस्थान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।