धरान: १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले नेपाली मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव र भाइचारा कायम गरेको बताएका छन् ।

धरान उपमहानगरपालिकाले बिहिबार प्रांगणमा आयोजित दशैं, तिहार र छठको शुभकाना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो धारणा व्यक्त गरेका हुन् । चाडपर्वहरु जाति, धर्म,भाषा र सँस्कृतिसँग जोडिएको भन्दै सभामुख भण्डारीले यो पहिचान भएको पनि बताए । ‘हरेक चाडपर्वको आ-आफ्नै मौलिकता छ, र ती चाडपर्वहरु परिष्कृत हुदै पुस्ता हस्तन्तरण हुनुपर्छ,’उनले भने,‘राम्रा कुराहरु ग्रहण गर्दै जानुपर्छ, नराम्रो भए छोड्दै पनि गर्नुपर्छ ।’

नेपालका चाडपर्वहरु सबैको साझा पर्व हुदै गएकोमा खुशी व्यक्त गर्दै सभामुख भण्डारीले केही समयअघि दशैं बहिष्कारको नारा, जुलुश हुने गरेको पनि स्मरण गरे । तथापी अहिले त्यसभन्दा माथि उठेर सामाजिक सद्भाव र भाइचाराको पर्वकोरुपमा सबैले सबै चाडपर्व मनाउन थालेको पनि सभामुख भण्डारीले बताए । ‘अहिले त्यो अवस्था भन्दा हामी माथि उठेका छौं, र सामाजिक सद्भाव छ, भाइचाराको विकास भएको छ,’उनले भने,‘सबैको चाडपर्वलाई सामाजिक सद्भावकोरुपमा ग्रहण गर्नुपर्ने आवश्यकता छ ।’

suvakamana

कार्यक्रममा प्रदेश सांसद सावित्री जोशी, उमिता बराइलीले पनि शुभकामना मन्तव्य राखेका थिए । दुवैले देश निर्माणको अभियानमा राजनीतिक सहकार्य हुनुपर्ने धारणा राखे । नेपाली कांग्रेसका नगर सभापति तिलक राईले पनि सबै दलहरुबीचमा सहकार्य गर्न जरुरी भएको भन्दै उपमहानगर नेतृत्व सबैको साझा नेतृत्व हुनुपर्ने बताए । ‘धरानको विकासमा देखिएको भ्याकुम र अविश्वास हटाउनुपर्छ, त्यो काम आजैको दिनबाट शुरुवात होस्,’उनले भने ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य प्रकाश राई, नेकपा धरान अध्यक्ष नारायण सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, उपमहानगरपालिकाका सल्लाहकार कृष्णकुमार अग्रवाल, सुनसरीका सिडिओ प्रकाश पौडेललगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा भएको थियो ।