विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार र विष्फोटक पदार्थसहित नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको सेक्रेटरीलाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका सेक्रेटरीसहित २ जना र वरामद सामग्री सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा र बालकुमार डाँगी सार्वजनिक गरिएको हो । १ नं प्रदेश प्रहरी प्रमुख तथा डिआइजी ठाकुरप्रसाद ज्ञवाली उपस्थित पत्रकार सम्मेलनमा मोरङको बुढीगंगा गाँउपालिका–७ मा लुकाइरहेको बिष्फोटक पदार्थसमेत सार्वजनिक गरिएको थियो । डिआइजी ज्ञवालीले प्रदेशमा हालसम्म विप्लका ४६ जना कार्यकताहरु पक्राउ गरेको जानकारी दिए ।

मोरङ प्रहरी प्रमुख तथा एसपी विश्व अधिकारीका अनुसार ४३ थान जिलेटिन बरामद गरिएको छ । उक्त जिलेटिन सेक्रेटरी खतिवडाले डाँगीलाई बिष्फोटक पदार्थ राख्न जिम्मेवारी दिएको एसपी अधिकारीले बताए । प्रहरीले केराघारीको माटो मुनी गाडेर निओजेल ९० लेखिएको जिलेटिन, एरियलसहितको सेतो रिमोट १ थान, तार जोडिएको बक्स १ थान, रातो टेप र तारसहितको डेटकर्ड, केप, मसिनो तारलगायत फेला परेको थियो ।

सेक्रेटरी खतिवडाको घर बुढीगंगा गाउँपालिका भएपनि उनी सुन्दरहरैंचा–७ मा डेरा लिएर बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनको कोठाबाट चन्दा संकलन गर्ने लेटरप्याड, प्रेश विज्ञप्ती, सम्पर्क नम्बर भएको डायरी, पार्टीको छाप, मेची–कोशी ब्यूरोको परिपत्र, सहयोग रसिद लगायत सामग्री पनि वरामद गरेको प्रहरीले जनाएको छ ।