मोरङ: सामाजिक सेवाका लागि युवा अभियान नेपालले दशैं, तिहार तथा छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदानका साथै हाजिरीजवाफ तथा सम्मानलगायतका कार्यक्रम गरेको छ ।

४० वर्ष माथिका व्यक्तिबीच भएको प्रतियोगितामा अम्बिका सापकोटा, केदार पोखरेल र सागर सिटौलाको समूह पहिलो भएको थियो । त्यस्तै, तिलक राई, श्रवण घिमिरे र सन्तोष पोखरेलको समूह दोस्रो तथा पार्वतीरमण तिम्सिना, भागवत पौडेल र भुपेन्द्र घिमिरेको समूह तेस्रो भएको थियो । विजयी समूहलाई प्रमाणपत्र तथा नगद पुरस्कार दिइएको थियो ।

सुन्दरहरैंचा ७ गोठगाउँमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला र विशिष्ट अतिथि पञ्चायत मावि गोठगाउँको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोमबहादुर श्रेष्ठले दशैं, तिहार तथा छठको शुभकामना दिएका थिए । समाजसेवी अनुरोध साह, नेकपाका ७ नम्बर वडा कमिटी अध्यक्ष गोकुल न्यौपाने, आयोजक संस्थाका सल्लाहकार संयोजक उमेश उप्रेती, साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्यलगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा ग्लोबल टिन हिरो समीर फुयललाई सम्मान गर्नुका साथै संस्थाका उत्कृष्ट सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो । लालीगुराँस भजन कीर्तन समूह, नेपाल कम्प्युटर सेन्टर र नरेन बुक्स स्टेशनरी सहयोगी संस्थाको रूपमा रहेको कार्यक्रममा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै वडावासीमा सामान्य ज्ञानको भण्डार बढाउन हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञाननाथ ढकालले बताए ।