सुनसरी: इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जन्मदिनमा केक काटनु भन्दा वृक्षारोपण गर्न आग्रह गरेकी छिन् ।

कोजाग्रत पूर्णिमा तथा आफ्नो ५० औं जन्मदिनका अवसरमा कागतीको विरुवा रोप्दै उनले जन्मदिनमा विरुवा रोप्न आग्रह गरेकी हुन् । इटहरी उपमहानगरले निर्माण गर्न लागेको सुरक्षित आवास, सेफ हाउस परिसरमा पचास वटा कागतिका विरुवा रोपिएको छ । कागति औषधी समेत भएकाले र पछि सेफहाउसको आम्दानी समेत हुने भएकाले कागति रोपिएको उपमेयर गौतमले वताइन् ।

वृक्षारोपण कार्यक्रममा इटहरी ३ का वडाध्यक्ष वालकृष्ण विष्ट,वडा नम्वर १२ का वडाध्यक्ष हेमानन्द दाहाल,कार्यपालिका सदस्यहरु गंगा गुरुड र इन्दिरा राई,वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, वातावरण शाखा प्रमुख पुष्प चौधरी, मेयर उपमेयर सचिवालय सदस्य महेश सुवेदी लगायत सहभागि थिए । इटहरी उपमहानगरले नीति तथा कार्यक्रममै वृक्षारोपणलाई प्रोत्साहित गरेको छ । जेष्ठ सदस्यको जन्म दिन तथा नयाँ सदस्यको जन्मका अवसरमा वृक्षारोपण गर्न आग्रह गरिएको छ । यसैगरि सडक निर्माण गर्दा छेउछेउमा र नयाँघरको सम्पन्न प्रमाण पत्र लिनुअघि विरुवा रोपेर आउनुपर्ने नियम छ ।