धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले नेपालका चाडपर्वहरु साझा साँस्कृतिक पर्वको रुपमा विकसित हुँदै गएको बताएका छन् ।

आज धरान उपमहानगरपालिका वार्ड नं. ४ देवीगाँउस्थित मुना क्लबद्वारा वडा दशैं, तिहार, छठ लगायत चाडपर्वहरुको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सभामुख भण्डारीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले नेपाल साँस्कृतिक, जातिय एवं भाषिक विविधताबीच सहिष्णुता र एकताको अनुपम उदाहरण रहेको बताए । पुनसंरचनाको क्रममा साविक पाँचकन्या गाविस धरानमा गाँभिएको यस क्षेत्रका बासिन्दालाई नगरपालिकाको बासिन्दाका अनुभूति हुने गरी विकास निर्माणको कामा गम्भिर रहेको पनि सभामुख भण्डारीले बताए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य जयकुमार राईले जनताले विश्वास गरेर जनताको काम गर्ने जिम्मेवारी दिएकोले जनअपेक्षा र चाहना अनुसार काम गर्न आफु सदैव प्रतिवद्ध रहेको बताए । उनले यसक्षेत्रका जनताको शिर झुक्ने कुनै काम नगर्ने कुरामा विश्वस्त रहन पनि आग्रह गरे । कार्यक्रममा नेकपाको सुनसरी जिल्ला कमिटी सदस्यद्धय प्रकाश राई र पदम प्रसाद लिम्बु, वार्ड समिति सदस्य धनबहादुर राईले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष विरबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा धरान नगर अध्यक्ष नारायण प्रसाद सुवेदी, सदस्य राजमणी निरौला तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।