रौतहट : केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ ।

कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ । पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन् । २०६४ चैत २७ को साँझ छिमेकमा अकल्पनीय आवाजमा बम विस्फोट हुँदा मुटु थर्केका ७६ वर्षीय धरिछन साहलाई उक्त दिनको घटना राम्ररी सम्झना छ । ‘विस्फोटलगत्तै कोलाहल मच्चियो र मान्छेको भागाभाग भयो’, उनी सम्झन्छन्, ‘आकाशमा कालो मुस्लो उठ्यो । मान्छेको चिच्याहटले वातावरण नै डरलाग्दो बनायो ।’

पहिलो संविधानसभा चुनावको अघिल्लो साँझ भएकाले कुनै अनिष्टले मुट काम्यो र एक मिनेटमै धेरै मान्छे मरे भन्ने हल्लाले गाउँभरि मौन डर व्याप्त भयो । विस्फोट भएको घर थियो पूर्वमन्त्री शेख इद्रिसको । उनले गाउँमा कहिल्यै चुनाव हुन दिएका थिएनन् । जहिले पनि बुथ क्याप्चर गरेर चुनाव जित्ने इद्रिसका भतिजा आफताबले पनि त्यसकै सिको गरेका थिए ।

भोलिपल्ट चैत २८ मा हुने संविधानसभा निर्वाचनमा आफ्नो गाउँको बुथ र मुस्लिम बहुल अन्य गाउँका बुथ क्याप्चर गरी सबै भोट आफ्नो पक्षमा पार्न उनले बम बनाउन लगाएका थिए। सोही क्रममा विस्फोट भएको थियो । बम बनाउने कारिगरमध्ये कसैले चुरोट खाएर फालेको ठुटोबाट सल्केर विस्फोट हुन गएको थियो । नागरिक दैनिकबाट