काठमाडौं: जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत लगिएको छ।

पक्राउ परेर पनि उच्च रक्तचापले गर्दा नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई म्याद थपका लागि प्रहरीले आज जिल्ला अदालत काठमाडौं लगेको हो । प्रहरीले उनलाई अस्पतालबाटै अदालत लगेको हो । संसद् सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि जबरजस्ती करणीको आरोपमा महरा पक्राउ परेका थिए । प्रहरीले उनलाई असोज १९ गते पक्राउ गरेको थियो । महराको दशैं हिरासतमा नै बितेको थियो । महरा पक्राउ परे लगत्तै दसैं बिदा भएको थियो । दशैं विदाले अदालत बन्द भएको कारण उनको म्याद थप हुन पाएको थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार म्याद थपका लागि पहिला सरकारी वकिलको कार्यालय हुँदै महरालाई जिल्ला अदालत काठमाडौं लगिएको हो। महरालाई पक्राउ पछि प्रहरीले महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा राखेको थियो। पछि स्वास्थ्यमा समस्या देखिएका भन्दै उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।