काठमाडौँ: जिल्ला अदालत काठमाण्डौंले बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अझै ३ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालतले पक्राउ परेको दिनदेखि १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । महरा पक्राउ परेपछि अदालत बन्द भएकोले प्रहरीले म्याद थप गर्न पाएको थिएन । आज अदालतमा म्याद थपको लागि प्रहरीले महरालाई अदालतमा उपस्थित गराएको थियो । अदालतले १३ दिनको अनुसन्धान गर्ने अनुमति दिएपछि अब महरा ३ दिन हिरासतमा बस्नुपर्ने भएको हो । उनले १० दिन हिरासतमा बिताइसकेका छन् ।

महरा असोज १९ गते पक्राउ परेका थिए । संसद सचिवालयकी नर्स रोशनी शाहीमाथि उनकै डेरामा पुगेर रक्सी पिएर यौनदुव्र्यवहार गरेको आरोप महरामाथि लागेको थियो । यो आरोप पछि उनले सभामुख पदबाट राजिनामा दिनु परेको थियो भने उनको सांसद पद पनि निलम्बनमा परिसकेको छ । अब प्रहरीले महरासँग वयान लिनेछ । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पीडित शाही र महराको फरेन्सिक जाँच गराइसकेको छ ।