धरान: चाडपर्वको अवसरमा शनिबार दिउँसो नेकपा धरान उपमहानगर कमिटिले धरान १५ स्थित चुम्लुङ हिममा चियापान कार्यक्रम आयोजना गरेको थियो । नेकपाको चियापन भन्दा बढी चर्चा चुनावको मुखमा पार्टी प्रवेशले पायो ।

धरानमा मंसिर १४ गते मेयर पदको उपनिर्वाचन हुदैछ । यो चुनावको मुखमा शनिबार सुनसरी उद्योग वाणिज्य संघ धरानका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ र कार्यसमिति सदस्य शुभेच्छा अधिकारी श्रेष्ठ नेकपा प्रवेश गरे । उनीहरुसँगै धरान ११ का राप्रपा नेपाल आवद्ध अर्जुनकुमार विश्वकर्मा, संघीय लिम्बूवान आवद्ध स्वर्णिम हाङ फोम्बो र धरान १६ निवासी सिद्धिकर्ण शर्मा पनि नेकपा प्रवेश गरे ।

उवा संघका उपाध्यक्ष श्रेष्ठ कांग्रेस पार्टीमा थिए । संघको गएको चुनावमा अध्यक्षमा बामपन्थी उम्मेदवार गिरीधारी सापकोटाले जितेपछि जिम्मेवारी बाँडफाट हुँदा श्रेष्ठलाई प्रथम उपाध्यक्ष बनाइएको थियो । त्यसबेला नै उनी भविष्यमा नेकपा प्रवेश गर्ने हल्ला चलिसकेको थियो । नेकपाको समर्थनमा उनी संघको आगामी अध्यक्षकोरुपमा प्रमुख दाबेदार भएका छन् । उनी सभामुख प्रदिपकुमार भण्डारीका नजिक मानिन्छन् । सभामुख हुनु अघिदेखि नै उनलाई भण्डारीले पार्टी प्रवेश गराउने प्रयास गरिरहेका थिए । शनिबार पार्टी प्रवेश पछि संक्षिप्त सम्बोधन गर्दै श्रेष्ठले भने,‘प्रदिप सरको सपना मलाई पार्टी प्रवेश गराउनु पनि थियो, म सरको त्यही सपना पुरा गर्न आएको हुँ । पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्छु ।’

nekapa1

यस्तै, संघकै महिला कार्यसमिति सदस्य अधिकारी पनि नेकपा प्रवेश गरिन् । उनलाई कांग्रेसको ट्याग लगाए पनि कांग्रेस सदस्यता लिएकी होइनन् । राजनैतिकरुपमा स्वतन्त्र रहेकी अधिकारीले गएको उवा संघको चुनावमा नेकपाकै उम्मेदवारलाई हराएकी थिइन् । अघिल्लो चुनावमा पनि नेकपाकै महिला उम्मेदवारलाई पराजित गरेर सदस्य भएकी हुनाले अधिकारीलाई कांग्रेसी भएको ट्याग लागेको थियो ।

चियापान कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश नं १ इञ्चार्ज भीमप्रसाद आचार्य, नेकपा केन्द्रीय सदस्य तथा प्रदेश आन्तरिक तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश तथा जिल्लाका नेताहरु र राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका धरान उपमहानगर सचिव श्याम पोख्रेलले पनि मन्तव्य राखेका थिए । नेता आचार्यले जनताको अपेक्षा र आवश्यकता अनुसार सरकारले गरेको काम कम भए पनि विगतको सरकारले गरेको भन्दा ५ गुणा बढी भएको दाबी गरे । उनले विकासमा राजनीति नगर्न आग्रह गर्दै धरानको खानेपानी समस्या समाधान गरेरै छोड्ने बताए । यस्तै, धरालनाई सुन्दर पर्यटकीय शहर बनाउने पनि उनले बताए ।