धरान: आगामी मंसिर १४ गते हुन लागेको धरानको मेयर पदको लागि समाजवादी पार्टीले गजेन्द्र इस्वोलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ ।

पार्टीको आज बसेको बैठकले इस्वोको नाम सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि, पार्टीले इस्वोसहित शुभचन्द्र राई र नगर अध्यक्ष ताजुव लिम्बुको नाम पनि प्रस्ताव गरेर पठाएको थियो । हिजो शनिबार धरानमा रहेका जिल्ला, प्रदेश तथा केन्द्रका नेता, सल्लाहकारसमेतको बैठकले सर्वसम्मतरुपमा इस्वोलाई उम्मेदवार उठाउने सहमति गरेपछि आज पार्टीले यस्तो निर्णय गरेको हो । उक्त बैठकले कांग्रेससँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने सुझाव समेत दिएको थियो । यो निर्णयसँगै धरानको उपचुनावमा कांग्रेससँग समाजवादीको गठबन्धनको सम्भावना समाप्त भएको छ । यसअघि, पार्टीको वडा अध्यक्षहरुको संयुक्त बैठकले पनि गठबन्धन गर्न नहुने भन्दै पार्टीलाई दबाब दिएको थियो ।

समाजवादी धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बूले माथिल्लो कमिटिसँग राय, सल्लाह लिदा एक जनाको मात्र नाम पठाउने सुझाव पाएको र चुनावी गठबन्धन पनि नगर्ने सल्लाह भएअनुसार एक जनाको मात्र नाम पठाउने निर्णय गरिएको बताए । 'अब उहाँको नाम मात्र प्रदेश कमिटिमा जान्छ । कांग्रेससँग चुनावी गठबन्धनको च्याप्टर लगभग क्लोज भयो,'लिम्बुले भने,'कांग्रेसले माथिल्लो तहमा पहल नै गरेन ।' उनका अनुसार माथिल्लो कमिटिसँगको राय, सल्लाह लिने बैठकमा जनअभिमत थाह पाउनको लागि पनि एक्लै चुनाव लड्ने र सकेसम्म जित हासिल गर्न कोसिस गर्ने भन्ने राय, सुझाव आएको थियो । समाजवादी पार्टीलाई वैकल्पिक शक्तिकोरुपमा उभ्याउनको लागि पनि चुनाव लड्ने निर्णय गरिएको उनले बताए ।

निर्वाचन परिचालन कमिटि पनि गठन

आईतवार बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा शुभचन्द्र राई, सह संयोजक बिरेश थापा,तेन्जिङ शेर्पा,कृष्ण लिम्बूलगायत छन् । परिचालन समितिको सचिबमा अध्यक्ष लिम्बू नै रहेका छन् । समितिमा भविष्यमा अन्य उपसमितिहरु पनि बनाइने अध्यक्ष लिम्बूले बताए ।