काठमाडौं : संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो । तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो ।

तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ । उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन् । राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि कार्यकक्ष तयार पारिए । गुरुङ र शर्मा पूर्वएमालेको कार्यालयमा बस्न नमानेको संसद् सचिवालयका पदाधिकारी बताउँछन् ।

भट्टराईले भने दलको कार्यालयबाटै कार्यालय सञ्चालन गरिरहेका छन् । यसअघि भट्टराईको कार्यकक्ष तत्कालीन माओवादी संसदीय दल रहेको २ नम्बर भवनमा थियो । ‘संसद् सचिवालय परिसरमा जता बसे पनि हुन्छ’, प्रमुख सचेतक गुरुङ भन्छन्, ‘संसद् सचिवालयले दिएकै स्थानमा बसेर काम गरिरहेको छु ।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट