काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ ।

२०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहटका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशलको अपहरण गरी उनलाई बन्धक बनाएका थिए । त्यही अपहरण काण्डका विषयमा तत्कालीन एमालेले संसद् अवरुद्ध पारेपछि सरकारले पुनरावेदन अदालतका तत्कालीन न्यायाधशि गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा अधिवक्ताद्वय अग्नि खरेल र शेरबहादुर केसी सदस्य रहेको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले आलमलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन बुझेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आलमलाई राज्यमन्त्रीबाट हटाएका थिए । त्यसबेला उनी राज्यमन्त्री पदबाट मात्र हटे, घटनामा संलग्न भएबापत् उनीमाथि थप कारबाहीको प्रक्रिया भने अघि बढेन । आयोगले दिएको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेन । त्यस्तै घटनाबाट उन्मुक्ति पाउँदै आएका आलमले २०६४ सालको चुनावअघि अर्को झन् ठूलो ‘अपराध’ गरे ।

२० वर्षअघिको त्यो घटनाः

२०५६ चैत १७ गते । रौतहटको जिल्ला विकास समितिमा आएको, तत्कालीन वनराज्यमन्त्री आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे ।

त्यसका लागि उनीहरूले जिविस परिसरमा रहेको ना अ झ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त सरकारी गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो ।

पीडित परिवारमा आलमको त्रासः

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त जाँचबुझ प्रतिवेदनको ठहर छ, ‘सरकारी गाडी र सवारीचालक नै प्रयोग गरेर अपहरण गरेको देखिन्छ ।’ जाँचबुझ आयोगले औंल्याएका तथ्य प्रमाणका रूपमा ग्रहण गर्न मिल्ने भनी सर्वोच्च अदालतबाट नजिर बनेको छ । एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ ।

व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराउँछ । कौशलले घटना विवरणसहित त्यही दिन बेलुकी प्रहरीमा उजुरी दिन्छन्, जसमा आलमका मान्छेहरूले जबर्जस्ती कागज गराएको व्यहोरा उल्लेख छ अनि त्यही दिन उनको शरीर परीक्षण र घाउ जाँचसमेत हुन्छ । घटनालगत्तै तत्कालीन विपक्षी दल एमालेका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका थिए । कान्तिपुर दैनिकबाट