इटहरी: असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) इटहरीमा लगाएको ताला बुधबार खोलिएको छ ।

नगर सचिव काशीनाथ दंगाललाई हटाउनुपर्ने मागसहित असन्तुष्ट पक्षले यसअघि नेकपा इटहरी र प्रदेश १ को कार्यालयमा तालाबन्दी गरेका थिए । आगामी ९महिनाभित्र नगर अधिबेशन गर्ने सहमतिसँगै इटहरी नगर कार्यालय र प्रदेश कार्यालयको ताला खुलेको हो । वार्तामा प्रदेश सह इन्चार्ज सावित्रीकुुमार काफ्ले, प्रदेश १ अध्यक्ष देवराज घिमिरे, सचिव हिमाल राई, सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलालगायत नेताहरुको उपस्थितिमा सहमति भएपछि ताला खुलेको बताइएको छ । 'सहमति भएपछि ताला खोल्यौं,'असन्तुष्ट पक्षका सुनिल कार्कीले भने ।

कार्तिक ९ गते इटहरीको ज्योति माविमा नेकपाका नेता माधबकुमार नेपाल आउने भएकोले पनि असन्तुष्ट पक्षलाई सहमति गरेर ताला खोल्न दबाब परेको थियो । नेकपा नेता तथा पुर्वप्रधानमन्त्री नेपाल इटहरी आउदा पार्टी कार्यालयमा तालाबन्दी भएको र असन्तुष्ट पक्षबाट थप केही गतिविधि होला कि भन्ने आशंकाले पनि अवागै पार्टीलाई यो समस्या सुल्झाउनु पर्ने दबाब पनि थियो ।

विधान विपरीत दंगाललाई नगर सचिव बनाईएको भन्दै उनलाई हटाउन माग गर्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको थियो । असन्तुष्ट पक्षले यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका थिए । पार्टी कार्यालयमा तालबन्दी भएकै कारण दशैंको शुभकामना आदानप्रदान कार्यक्रम पार्टीले गरेको थिए । असन्तुष्ट पक्षले भने अलग्गै कार्यक्रम गरिसकेको छ ।