झापा: जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट सेवाग्राहीलाई आज बिहिबारबाट सेवा प्रदान गर्न थालेको छ ।

जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न शुरु गरिएको हो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय प्रशासन लेखिएको बटम क्लिक गरी टोकन लिएर सेवाको उदघाटन गरेका थिए । नगरपालिकाले नगद तीन लाखमा खरीद गरेर सो मेसिन जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको हो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकल प्रणालीको शुरुवात गरेको बताए । प्रजिअ रानाले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने धारणा राखे । जिल्ला प्रशासनको ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

आज टोकन प्रणालीबाट कचनकवल गाउँपालिकाका–७ की कञ्चन सिटौलाले पहिलो सेवा लिएका थिए । उनी नयाँ नागरिकता बनाउन बुबा डिल्लीप्रसाद खरेलसँग आएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले खाँदा र अबिरले स्वागत गरेका थिए ।

पालो पर्खंदा सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले टेलिभिजन र फ्रि वाइफाइकोसमेत व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । उनले कार्यालयले गरेका गतिविधिलाई त्रैमासिक रुपमा इ–प्रशासन बुलेटिन निकालेर जानकारी दिन थालिएकोे कार्यक्रममा बताए ।