झापा: प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बहुभाषि, बहुजातिहरुको मिश्रित बसोबास रहेको मुलुकमा चाड पर्वले सबैलाई एक सुत्रमा बाँध्न सक्ने बताएका छन् ।

मन्त्री कार्कीको आयोजना तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. ५ (क) को व्यवस्थापनमा गौरादहको सामुदायिक हलमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो धारणा राखेका हुन् । उनले परम्पराकालदेखि नेपाल र नेपालीहरुमा मनाईंदै आएको महान पर्व दशैं, तिहार र छठ पर्वले मुलुक भित्र बसोबास गर्ने १ सय २६ भन्दा बढी जातजातिहरुबीच सबैमा भाइचारा र सद्भाव कायम राखेको धारणा राखे ।

nekapa-gauriganj1

आगामी ३ वर्ष भित्रमा युवाहरुलाई रोजगारीको अवसर सिर्जना गराउँदै गरिबी निवारण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने पनि मन्त्री कार्कीले बताए । विकासको मेरुदण्ड मानिने सडक सञ्जाल विस्तार र निर्माण कार्यलाई तिव्रता दिने उनको भनाई थियो । कृषिलाई आधुनिकीकरण गरी युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जन गर्ने उनको भनाई थियो ।

प्रदेश समन्वय कमिटि संयोजक योगराज दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा प्रदेश सभा सदस्य झलक सिंह दर्लामी, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेकपाका नेता पुष्प ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रम नगर अध्यक्ष मित्रदेव काफ्लेले सञ्चालन गरेका थिए ।