धरान: आगामी मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन युवा तथा तरुणहरु प्रचार अभियानमा जुटेका छन् ।

कांग्रेसले धरानमा सर्वसम्मतरुपमा नगर सभापति तिलक राईलाई सिफारिश गरेपछि युवा तथा तरुणहरु पनि उनलाई जिताउन प्रचारप्रसारमा जुटेका हुन् । शनिबार वडा नं १३ स्थित कांग्रेसको चुनाव प्रचार प्रसार कार्यालयमा वडास्तरीय युवा तथा तरुण परिचालन समिति गठन गर्दै युवाहरु पनि चुनावी अभियानमा होमिएका हुन् । कार्यक्रममा संयोजक हेम गुरुङको संयोजकत्वमा ७५ सदस्यीय समिति गठन भएको छ । साथै, सोही कार्यक्रममा वडा नं १३ लाई विभिन्न २८ वटा क्षेत्रमा विभाजन गरेर २८ जना युवाहरुलाई संयोजकको जिम्मेवारी पनि दिइएको छ ।

कार्यक्रम तरुण दलको नगर अध्यक्ष हिमाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । अध्यक्ष श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन धरानका युवा तथा तरुणहरु पनि चुनावी अभियानमा होमिएको बताए । ‘आजदेखि युवा, तरुणहरु पनि कांग्रेस उम्मेदवार जिताउन चुनावी प्रचारप्रसार अभियान जुटेकय छन्,’उनले भने,‘दुई तिहाईको सरकार, प्रदेश र धरान उपमहानगर नेतृत्वको बारे जनतालाई प्रष्ट पार्दै कांग्रेसलाई जिताउने अभियान शुरु भएको छ ।’

tarun

उनले धराने जनता वर्तमान सरकारबाट आजित भएकोले अब परिवर्तन ल्याउन कांग्रेसलाई जिताउनै पर्ने तथ्यहरु बुझाउदै युवा, तरुणहरुले अभियान थालेको पनि बताए । ‘धरानलाई विकास र समृद्धिको बाटोमा लैजान कांग्रेसलाई जिताउन आवश्यक भएको कुरा जनतालाई बझाउदै भोट हाल्नको लागि गाउँ, टोलटोलमा परिचालन हुनेछौं,’उनले भने । कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सचिव महेन्द्र प्रधान, तरुण दल नगर सचिव मनोहर श्रेष्ठले पनि बोलेका थिए ।