झापा : नेपाल कम्युनिष्ट पार्टि (नेकपा) झापाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नेकपाको स्थानीय तह परिचालन विभागको आयोजनामा बुधवारदेखि नेकपा निकटका जनप्रतिनिधिका लागि तीन दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरणमा झापाका १५ वटै स्थानीय तहका नेकपा निकट जनप्रतिनिधि तथा कार्यकर्ता सहभागी बनेका छन् । अभिमुखीकरणको पहिलो दिन बुधवार सङ्घीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सहजीकरण गरेका थिए ।

झापाका स्थानीय तहका तर्फबाट अधिकार र कानुनी जटिलता लगायत अहिलेसम्म काम गर्दाका चुनौतिका विषयमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले आफ्नो प्रस्तुति राखेका थिए । आज विहीवार बेदुराम भुसाल र देबेन्द्र पौडेलले सहजीकरण गर्ने कार्यक्रम विर्तामोड स्थित नेकपा जिल्ला कार्यालयको सभाहलमा सञ्चालन भइरहेको छ । शुक्रवार नेकपा स्कूल विभागका प्रमुख एवम् रक्षामन्त्री इश्वर पोखरेल सहजीकरणका लागि झापा आउने कार्यक्रम तय भएको जनाइएको छ ।