धरान: धरानको मेयर पदको निर्वाचनको लागि कांग्रेस धरान उपमहानगर कमिटिबाट सिफारिश भएका तिलक राई उम्मेदवार हुने पक्का भएका छन् ।

आज कांग्रेस केन्द्रीय समिति बैठकले उनको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेपछि उनी उम्मेदवार हुने पक्का भएका हुन् । राई गएको स्थानीयतह निर्वाचनमा पनि मेयर पदको लागि कांग्रेसबाट उम्मेदवार थिए । उनी कांग्रेस उपमहानगर कमिति सभापति पनि हुन् । यसपटक पनि उनलाई उम्मेदवार बनाउन असोज २५ गते कांग्रेस धरान कमिटिले सर्वसम्मत निर्णय गर्दै सिफारिश गरेको थियो । सोही सिफारिश अनुसार आज केन्द्रीय समितिले सभापति राईको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको कांग्रेस नेता एवं केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् ।

नेता विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत धरानको मेयर पदको निर्वाचनको लागि नगर सभापति तिलक राईको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको जानकारी दिएका हुन् । 'मङ्सिर १४ गते हुने धरान उपमहानगर पालिकाको मेयर पद्का लागी हुने निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट नगर सभापति श्री तिलक राइको नाम केन्द्रीय समितीले सर्बसम्मत अनुमोदन गरेकोमा उहाँलाइ हार्दिक बधाइ दिदै बिजयको लागी हार्दिक शुभकामना ब्यक्त गर्दछु,'नेता विश्वकर्माले भनेका छन् ।