काठमाडौँ : मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् ।

चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका छन् । त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहे । उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन ।

दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए । -कान्तिपुर दैनिकबाट