धरान: आगामी मंसिर १४ गतेको उपनिर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसले धरानमा वृहतरुपमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम शुरु गरेको छ ।

तिहार अघिदेखि नै घरदैलो गर्दै मतदाता भेट्घाट गरेको कांग्रेसले आज आईतबार चुनाव लक्षित वृहत रोड शो(सडक प्रर्दशन) गरेको छ । धरानको जिरो प्वाइन्टदेखि बरगाछीसम्म कांग्रेसले बृहत रोड शो गरेको हो । रोड शोमा चुनावी प्रचारप्रसारसहित प्रदर्शनमा नेपाली कांग्रेसमा आवद्ध हजारौं कार्यकर्ता सहभागी भएका थिए । कांग्रेस धरान उपमहानगर कमिटि सचिव श्याम पोखरेलले कार्तिक ९ गतेदेखि नै चुनाव लक्षित घरदैलो कार्यक्रम सुरु गरिसकेको बताए ।

congress

कांग्रेसको पक्षमा जनमत राम्रो देखिएको समेत सचिव पोखरेलले बताए । उनले भने, ‘नेकपाले धरानमा विगत ३० वर्षदेखि चुनाव जित्दै आएको छ, तर विकास भने सुस्त गतिमा छ, धराने जनता नेकपादेखि आजित भएको छ ।’ धराने जनता मतदान गर्न नजाने मनस्थितिमा समेत रहेको पोखरेलले बताए । ‘नेपाली कांग्रेसले काम गरेको धराने जनताले देख्न पाएको छैन, त्यसैले यसपाली कांग्रेसलाई जिताएर परीक्षण गर्ने धराने जनताको मुड छ,’उनले भने । नेपाली कांग्रेसले धरानमा सभापति तिलक राईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।