काठमाडौं : मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन ।

अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुसँग परामर्श जारी राखेका छन् । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्बाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलासिस नै गरिरहनुभएको छ, डायलासिस यहाँ सजिलै हुन्छ, अरु विकल्पबारे टुंगो लागिसकेको छैन’, उनले भने ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट बृत्तमा डायलासिसभन्दा दोस्रो पटक प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् । यद्यपी, बृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलासिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरु विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख र्गयो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरु राखेर डायलासिस गरिरहनु उचित हुनसक्छ ।’ कान्तिपुर दैनिकबाट