धरान: आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा साझा पार्टीले पनि धरानमा मेयरको उम्मेदवार घोषणा गरेको छ ।

आज बुधबार धरान १ स्थित धुलिखेल समाजमा कार्यक्रम गर्दै साझा पार्टीले धरानमा राजनकुमार श्रेष्ठलाई मेयरको उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार श्रेष्ठ पार्टीको प्रदेश कमिटि सदस्य हुन् । धरान १० निवासी श्रेष्ठ विगत २६ बर्षदेखि ट्युशन सेन्टरमा अंग्रेजी बिषयमा पढाउदै आइरहेका छन् । उनको धरान ९ मा आफ्नै न्यु प्राक्टिकल इंलिस ल्यांग्वेज सेन्टर छ ।

श्रेष्ठ राजनीतिमा खुलेर सक्रिय भएको मात्र २०७४ सालदेखि हो । यसअघि उनी प्रदेश सभा सदस्यमा पनि पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला उनले ७ सयको हाराहारीमा मत ल्याएका थिए । उनले धरानको सर्वांगीण विकास र समृद्धिको लागि शिक्षा, स्वास्थ्य, गुणस्तरीय पानी, जनशक्ति जस्ता विकासको पुर्वाधारमा जोड दिनुपर्ने आफ्नो एजेण्डा रहेको बताए ।

साथै,सुशासनको प्रत्याभूति गराउने पनि उनको दाबी छ । ‘संविधानले दिएको २२ वटा अधिकार पुर्णरुपमा सदुपयोग गर्नेछु । सहकारी संस्था, बजारलाई व्यवस्थापन गर्छु । आधारभुत र माध्यमिक शिक्षामा गुणस्तरीयता वृद्धिमा जोड दिनेछुँ,’आफ्नो चुनावी एजेण्डाबारे उनले भने,‘न्यायोचित कर प्रणाली लागु गर्नेछु । कर जनमुखी हुनुपर्छ । जलाधार र वन्यजन्तुको संरक्षणमा पुर्णध्यान दिनेछु । आधारभुत स्वास्थ्य सेवा र सरसफाईमा नगरको ध्यानआकर्षित गराउनेछु ।’

उनले ज्येष्ठ नागरिक, अपांग व्यक्तिहरु र अशक्तको लागि सामाजिक सुरक्षाको प्रत्याभूति गराउने पनि बताए । उम्मेदवारी घोषणा आज गरेपनि पार्टीको चुनावी घरदैलो भने २ दिनपछि शनिबारदेखि मात्र शुरु हुने उम्मेदवार श्रेष्ठले बताए । ‘लोकतन्त्रमा मतदाता सर्वशक्तिमान हुन्छ, मतदाताले मन र मत नवदलिएसम्म देश वद्लिदैन । मन र मत वदलिन मतदाता राजनीतिक मायाजालोबाट मुक्त हुनुपर्छ । नत्र नेताले सुख पाउने, जनताले दुःख पाउने क्रम जारी रहन्छ,’उनले भने ।