पथरी: किरात राई यायोक्खा मोरङले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई समेटेर छिमेकी राष्ट्र भारतले नयाँ नक्सा सार्वजनिक गरेको प्रती विरोध जनाउदै सो नक्सा खारेज गर्न माग गरेको छ ।

बुधबार बसेको यायोक्खा जिल्ला समितिको बैठकले भारतले भर्खरै सार्वजनिक गरेको नक्सा खारेजी र सो भूमी फिर्ता गर्न नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ । भारतले केही दिन अघि जम्बुकास्मिर र नेपालको लिपुलेक क्षेत्रको करिव ३१० वर्ग किलोमिटर भूभाग आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । यायोक्खा बैठकले सो नक्सा खारेजी र अतिक्रमित भूभाग फिर्ता गर्न सरकारले अबिलम्ब पहल गर्नु अनुरोध गर्ने निर्णय गरेको जिल्ला सचिव केदार राईले बताए ।

यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राईको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई, केन्द्रिय प्रचार विभाग प्रमुखसमेत रहेका सचिव अर्जुन जम्नेली राई, केन्द्रिय सदस्य नवीन राई लगाएको उपस्थितिमा भएको बैठकले प्रदेश १ को नाम किरात राख्न कार्तिक २६ गतेदेखि किरात प्रदेश अभियान सन्चालन गर्ने निर्णय भएको सचिव राईले बताए । प्रदेश १ को नाम किरात राख्न आवश्यक दवावको लागि मोरङ हुँदै १४ जिल्लामा अभियान सन्चालन हुने यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

बेलबारी नगरपालिका ४ को शोभा नाछिरिङलाई गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यालय बेलबारीले पक्रेर मुद्दा चलाएको प्रति खेद प्रकट गरेको छ । राष्ट्रिय जनगणना २०७८ मा थरको महलमा राई, धर्मको महलमा किरात, भाषाको महलमा आ(आफ्नो मातृ भाषा लेखाउन सचेत रहने निर्णय भएको जिल्ला अघ्यक्ष नरहाङ राईले बताए ।