धरान: मंसिर १४ गतेको उपनिर्वाचनको लागि धरानको मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि नेकपाका उम्मेदवार प्रकाश राईले आफु असाध्यै उत्साहित भएको बताएका छन् ।

मनोनयन दर्ता पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले स्वर्गीय मेयर तारा सुब्बाको निधन पछि अधुरो रहेको विकास निर्माण र योजनाका कामहरुलाई पुरा गर्न आफ्नो उम्मेदवारी भएको बताए । पार्टीले आफुलाई विश्वास गरेर प्रतिनिधिकोरुपमा मोर्चामा पठाउने निर्णय गरेकोले पनि आफु उत्साहित भएको उनले बताए ।

नेपाल देश नै विकासोन्मुख भएको र धरान पनि विकास निर्माणमा वामे सरिरहेकोले यहाँ थुप्रै चुनौती र सम्भावनाहरु भएको नेकपा उम्मेदवार राईले बताए । ‘तथापी, विगतदेखि अहिलेसम्मको कामहरु, तिनै तहमा स्थानीय, प्रदेश र संघमा पनि नेकपाकै सरकार भएकोले एकआपसको सहयोग र हातेमालो गरेर आएका छौं । ती चुनौती र सम्भावनालाई पुरा गर्न सक्छौं भन्ने लागेको छ,’पत्रकारहरुलाई प्रतिक्रिया दिदै उनले भने ।

prakashh

उम्मेदवार राईले पार्टीको दीर्घकालिन र अल्पकालिन योजना भएको र त्यसलाई पुरा गर्ने आफ्नो एजेण्डा भएको पनि प्रष्ट्याए । ‘म मतदाताहरुलाई सम्झाउन चाहन्छु, तपाईहरुले अभिमत दिनुभएको ५ बर्षको लागि हो । बीचमा नगरप्रमुख असामयिकरुपमा गुमाउनुपर्यो । त्यसको परिपूर्तिको लागि बाँकी रहेको कार्यकाल पुरा गर्न र डेढ बर्ष प्रमुखविहिन रहेको, पेन्डिङ रहेको विकास निर्माण,अन्य कामकाजलाई पुरा गर्नलाई मेरो उम्मेदवारी हो,’उनले भने । नेकपाकै पुर्वमेयर मनोजकुमार मेन्याङबोको पालामा शुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र संघको लगानीमा कार्यान्वयनको हुदै गएको र खानेपानी योजना पनि पुरा हुने चरणमा भएको उनले बताए ।