धरान: धरानका स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमति इन्दु राई सुब्बा र नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार तिलक राईबीच आज भेट भएको छ ।

मंसिर १४ गतेको उपनिर्वाचनको लागि घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार राई र स्वर्गीय मेयर पत्नी राईबीच भेट भएको हो । उम्मेदवार राई भोट मतदातासँग भेटघाट र भोट माग्ने क्रममा आज धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्वर्गिय सुब्बाको घरमा पुगेका थिए । उम्मेदवार राईले आशिर्वाद मागेका थिए भने स्वर्गीय मेयर पत्नीले जितको शुभकामना दिएकी थिइन् । भेटको क्रममा उम्मेदवार राईले स्वर्गीय मेयर तारा सुब्बाको योगदानलाई आफु निर्वाचित भए पश्चात नर्बिसने बताएका थिए । करिब ५ मिनेटको संवादको क्रममा उनले मेयरको निधनपछि धरानमा बेथिति बढेको भन्दै यस्को अन्त्य गर्ने पनि प्रतिवद्धता जनाएका थिए ।

indu-shubhakaman--(4)

गत २०७४ सालमा सम्पन स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट तिलक राई नै उठेका थिए । त्यसबेला उनी तत्कालिन नेकपा एमालेका उम्मेदवार तारा सुब्बासँग पराजित भएका थिए । मेयर सुब्बाको असामयिक निधन भएपछि धरानमा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय मेयर सुब्बाकी पत्नी इन्दु मेयरमा स्वतन्त्र उम्मेदवारी दिने चर्चा पनि चलेको थियो । तर, हंगकंगबाट भर्खर धरान आएकी उनले नेकपाका उम्मेदवार प्रकाश राईको प्रस्तावक बनेकी थिइन् ।