धरान: नेपाली कांग्रेसको तर्फबाट धरान उपमहानगरको मेयरको उमेद्रवार तिलक राईले यसपालीको चुनावमा आफ्नो जित निश्चित रहेको दावी गरेका छन् ।

चुनावी अभियानमा मतदाताको घरदैलौमा पुगिरहेका राईले शनिबार यस्तो दाबी गरेका हुन् । उनले विगतको चुनावको आधारमा कम्युनिष्टको आफ्नो किल्लाको नारा दिने गरेको बताउदै यसपालीको चुनावको परिणामले धरानमा कम्युनिष्टको त्यो दम्भ अन्त्य हुने बताए । राईले भने,‘औपचारीकरुपमा निर्वाचन आयोगले १४ गतेको निर्वाचन पश्चात मत गणना घोषणा गर्छ तर धराने जनताको साथ र सहयोगले यसपाली नेपाली कांग्रेसले धरानमा चुनाव जित्ने लगभग पक्का भइसकेको छ ।’

कांग्रेस उम्मेदवार राईले कांग्रेसबाहेकको पनि मतदाताको पनि सहयोग आफुले पाउने बताए । कम्युनिष्टको शासनले वाक्क दिक्क भइसकेका धराने जनताले यसपाली मलाई मत दिन्छन्, उनले भने । धरान १७ मा घरदैलोको क्रममा पत्रकारहरुले उनलाई सोधेका थिए,'लालकिल्लामा कंग्रेसको जित कसरी निश्चित छ ?' जवाफमा उनले भने,'यसपाली कांग्रेस बाहेकका मतदाताहरु मजदुर, किसान, विभिन्न पेसाकर्मीको साथ मलाई छ । कम्युनिष्टका वरिष्ठ नेताहरुको मत पनि यसपाली मलाई नै आउदैछ ।'