धरान: धरानको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईलाई धरानको वडा नं ११ मा स्थानीय मतदाताहरुले भब्य स्वागत गरेका छन् ।

उम्मेदवार राईलाई आइतबार वडा नं ११ को मंगलबारे चौकमा पञ्चे बाजासहित स्थानीय मतदाताहरुले फुलमाला लगाएर भव्य स्वागत गरेका हुन् । घरदैलो कार्यक्रम तथा अभियानको क्रममा उम्मेदवार राई आइतबार वडा ११ को शान्ति चोक, हङकङ रोड, कल्याण चोकलगायत विभिन्न टोलहरुमा मतदाताको घरमा पुगेका थिए । सोही क्रममा उनलाई वडाबासीहरुले पञ्चे बाजासहित भव्यरुपमा स्वागत गरेका हुन् ।

धरानको माटो हुर्केका नेता भएकोले जितको लागि शुभकामनासहित टोलमा स्वागत गरिएको स्थानीय धनसेर राईले बताए । उनले उम्मेदवार राईलाई आशिर्वाद समेत दिएका थिए । मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट राईले मेयरमा उम्मेदवारी दिएका छन् । उनको यो दोस्रो पटक मेयर पदको लागि उम्मेदवारी हो । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयर पदमा उठेका उनले त्यसबेला भने यस्तो स्वागत नपाएको बताए । उनले भने,'यसपाली धरानका सबै वडामा मतदातहरुबाट भव्य स्वागतपाई रहेको छुँ । धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा म ढुक्क छुँ ।'

घरदैलो गर्दै मतदातालाई भेट्न ब्यस्त रहेका उम्मेदवार राईले धरानलाई बिकास र निकास दिने असल नेताको अभाव खड्किएको र अहिले धराने जनताले आफुलाई योग्य उम्मेदवारकोरुपमा हेरेको बताए । 'धराने जनतो मलाई विकास र समृद्धिको सारथी बन्न सक्षम उम्मेदवारकोरुपमा हेरिरहेका छन्,'उनले भने ।