धरान: नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति तथा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले धरानमा कांग्रेसप्रति जनलहर देखेर कम्युनिष्ट नेताहरु आत्तिएको बताएका छन् ।

आइतबार धरान ११ मंगलबारे चोकमा घरदैलो अभियानको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दे सभापति कोइरालाले कांग्रेसप्रतिको जनलहरले धरानका मात्र होइन, केन्द्रकै कम्युनिष्ट नेताहरु पनि आत्तालिएको बताएका हुन् । उनले गरिब, सुकुम्बासी, मजदुरको पार्टी भनेर कम्युनिष्टहरुले धेरै राज गरे पनि ती वर्गका जनताले केही राहत नपाएकोले यसपाली चुनावको मतपरिणामले कम्युनिष्टहरुलाई नङ्ग्याउने दाबी गरे ।

उनले देशभर कम्युनिष्ट सरकारप्रतिको वितृष्णाको उपज धराने जनताले तिलक राईको पक्षमा उभिएर आफ्नो अभिमत प्रकट गर्ने पनि जिकिर गरे । उनले कांग्रेसबाट उम्मेदवार रहेका तिलक राई कर्मठ र योग्य मेयर हुने जिकिर गर्दै भने,'धरानमा यसपालीको जस्तै साथ, समर्थन र जनलहर यो भन्दा अगाडि थिएन । त्यसैले यो उपनिर्वाचनमा कम्युनिष्ट नेताहरु आत्तिइसकेका छन् ।'

धराने जनता परिवर्तनको पक्षमा रहेकोले यस पटकको चुनावमा कम्युनिष्टको गफ नचल्ने सभापति कोइरालाले बताए । उनले धरानको बिकास र निकासको लागि कांग्रेस उम्मेदवार राईको जित आवश्यक भएको र जित सुनिश्चित भएको पनि बताए । धरानको सुकुम्बासी बस्तीदेखि मुख्य बजार तथा चोकहरुमा र देशभर नै पनि यसपाली तिलक राईले जित्ने चर्चा भइरहेको नेता कोइरालाले बताए ।